“कोरोना संक्रमणमा सरकारको भुमिका”

0
311
शेयर गर्नुहोस्

-रिषीकेश न्यौपाने
बरिष्ट उपाध्यक्ष
प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया

कोरोना भाईरसले बिश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने बिश्वका अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंशा , बलात्कार र अन्याय , अत्याचारको बिरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ, तर प्रधानमन्त्रीको कुर्शी जोगाउनका लागी देशब्यापी आन्दोलन गर्दा कोरोना सर्दैन, राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन । रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतीनाथको मन्दिरमा पुजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने कृयाकलाप गर्दा कोरोना सर्छ तर सरकारलाई मनपर्ने कृयाकलाप गर्दा कोरोना सर्दैन ।

नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार र सत्तारुढ दल नै बढी जिम्मेवार रहेका छन् । पहिलो लकडाउनको अबस्थामा नेपालमा कोरोना संक्रमितको संख्या सिमित मात्रामा थियो, स्थिती सामान्य नै थियो जब नेपाल सरकारले कर उठाउने उद्देश्यले असार मसान्तलाई लक्षित गरी लकडाउन खोल्यो संक्रमितको संख्या ह्वात्तै बढ्यो । असार मसान्तदेखी आजको दिनसम्म पनी कुनैपनी सरकारी कार्यलयहरुमा माक्स लगाउने बाहेक अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुरा गरियको छैन र सामाजिक दुरीपनी कायम गरियको देखिॅंदैन । सार्बजनिक यातायात, बजार लगायतका अन्य स्थानहरुको पनी यस्तै अबस्था छ । कुनैपनी स्थानमा न कुनै सुरक्षाकर्मी खटायर स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गराईयको छ न कुनै जनचेतना जगाउने भरपर्दो काम भयको छ। यही प्रबृतीले दिन दुईगुणा रात चौगुणाको दरले संक्रमण फैलियो ।

सत्तापक्ष , प्रतिपक्ष लगायतबाट केन्द्र देखी स्थानिय तह सम्म आयोजना गरियको राजनीतिक बैठक, भेला र पार्टी प्रबेश कार्यक्रमहरुले आगो झैं दन्कीरहेको कोरोना संक्रमणमा घ्यू थप्ने काम गर्यो । प्रधानमन्त्री को कुर्सी जोगाउनका लागी प्रधानमन्त्री केपी ओली गुटका नेकपा कार्यकर्ताहरुले गरेको देशब्यापी आन्दोलनबाट पनी यसमा थप सहयोग पुग्यो । हुन त एमसीसी बिरुद्धको आन्दोलन, हत्या, हिंसा, बलात्कार बिरुद्धको आन्दोलन, अनियमितता र भ्रष्टाचार बिरुद्धको आन्दोलन र शोषण,दमन , अन्याय र अत्याचार बिरुद्धको आन्दोलनहरुका कारणले पनी कोरोना संक्रमण फैलिन मद्दत पुगेको छ । यि याबत् आन्दोलनहरु सत्तापक्षका अकर्मन्यता र गलत रबैयाका कारण बाध्यताबस् गरियको हुॅंदा यसको जिम्मेवारी पनी सरकार पक्षले नै लिनुपर्छ ।

कुनैपनी बिषयमा जनताहरुलाई संबेदनशिल, जिम्मेवार र लापर्बाह जे बनाउन पनी सरकार, मन्त्री वा प्रधानमन्त्रीको ठूलो भुमिका हुन्छ । सुरुका दिनहरुमा नेपाली जनताहरुलाई कोरोना प्रती साबधानी अपनाउनका लागी नेपाल सरकारले राम्रो भुमिका खेल्यो र यसले गर्दा कोरोना संक्रमण नियन्त्रण पनी भयकै हो तर पछी आयर कोरोनाको बारेमा जनतालाई असाबधान बनाउने र भ्रम फैलाउने काम पनी सरकारले नै गर्यो । जब प्रधानमन्त्री बाट कोरोना केही होइन अदुवा, मरिच, बेसारपानी खायर हाच्छिउ गरेर कोरोना उड्छ भन्ने बक्तब्य सार्बजनिक भयो, प्रधानमन्त्री जस्तो ब्यक्तीले बोलेका कुरा पक्कै झुटो होईन भन्ने ठानेर कैयौॅं शिक्षाको उज्यालो बाट बन्चित नेपाली जनताहरुले कोरोनालाई सामान्य रुपमा लिन थाले र साबधानी अपनाउन छाडे, यसबाट पनी केही हद सम्म संक्रमण फैलिन गयो । अदुवा , मरिच , बेसार लगायतका जडिबुटीहरु स्वास्थ्यका लागी फाईदाजनक हुन् तर कोरोनाको औषधी होईनन् भनेर अशिक्षाको ॲंध्यारोमा रहेका जनताहरुलाई बुझाउने हिम्मत सत्तापक्षका कोही कसैले गर्न सकेनन् बरु सबैजना यसको ठिक बिपरित अन्धभक्त भयर प्रधानमन्त्रीको बक्तब्यलाई सत्य साबित गराउने दौडमा लागे ।

कोरोना एउटा भाईरस हो, यसले सत्तापक्ष-प्रतिपक्ष , धनी-गरीब , नेता-जनता , संसद , मन्त्री , प्रधानमन्त्री , ब्यापारी , सुरक्षाकर्मी कसैलाई चिन्दैन र यसलाई लकडाउनले मात्र पनी रोक्न सक्दैन । सरकारले यही कुरा बुझ्न नसकी लकडाउनलाई मात्र कोरोना रोक्ने बिकल्प सोचेर अन्य कुराहरुमा साबधानी नअपनाउनाले गर्दा आज कोरोना भाईरस सर्बसाधारण जनताबाट सुरक्षाकर्मी, ब्यापारी , नेता , संसद , मन्त्री हुॅंदै प्रधानमन्त्री निबास बालुवाटारको ढोकाबाट भित्र छिरिसकेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी पार्टीको बैठक , मन्त्रीपरिषद्को बैठक , भेटघाट लगायत सम्पुर्ण राजनीतिक कार्यक्रमहरु प्रधानमन्त्री निवासमा नै गर्ने प्रबृतीको परिणाम हो यो । यस्तै अबस्था रहिरहेमा प्रधानमन्त्री को एक घर एक रोजगारीको योजना अब एक घर एक कोरोना संक्रमितमा परिबर्तन हुने पक्का छ ।